कोरोना संक्रमितको संख्यामा भारतले इटालीलाई पनि उछिन्यो !

एजेन्सी – कोरोना भाइरस संक्रमितको संख्यामा भारतले इटालीलाई पनि उछिनेको छ। बितेको २४ घण्टामा ९ हजार भन्दा बढी संक्रमित फेला परेसँगै भारतले संक्रमितको संख्यामा इटालीलाई पनि उछिनेको हो।

भारतमा बितेको २४ घण्टामा भारतमा ९ हजार ४ सय ७१ जना संक्रमित फेला परेका छन्। जससँगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार १ सय ८४ पुगेको छ। बितेको २४ घण्टामा भारतमा फेला परेको संख्या विश्वकै तेस्रो धेरै हो। २४ घण्टामा भारत भन्दा बढी अमेरिका र ब्राजिलमा मात्र सबै भन्दा बढी संक्रमित फेला परेका छन्।

इटालीलाई उछिनेसँगै भारत कोरोनाबाट अति प्रभावित मुलुकको सूचीमा एक स्थान माथि उक्लिएको छ। पहिला सातौं अति प्रभावित मुलुकको रुपमा रहेको भारत अब छैठौ अति प्रभावित मुलुक बन्न पुगेको छ।

यस्तै भारतमा अहिले सम्म कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ६ सय ४९ पुगेको छ। जस मध्ये २ सय ८६ जनाले बितेको २४ घण्टामा ज्यान गुमाएका हुन्।

भारतमा अहिले सम्म १ लाख १३ हजार २ सय ३३ जना संक्रमित निको भएर घर फर्किएका छन् भने भारतका विभिन्न अस्पतालमा १ लाख १६ हजार ३ सय २ जनाको उपचार चलिरहेको छ।

प्रकाशित : शनिबार, जेठ २४, २०७७०२:१९

“भारत सरकारले कोरोना नियन्त्रण गर्न सकेन”